बेंगलोर । दक्षिण भारतको एउटा सहरमा गतसाता अवैध मदिराको सेवनका कारण ६३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले बिहीबार जानकारी दिँदै घातक मदिरा पीएका एक सयभन्दा बढीलाई अस्पताल लगिएको जनाएको छ ।
भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ । तमिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा रहेको एउटा सहरमा भएको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।
यो रक्सी मेथानोलले भरिएको स्थानीय मदिरा भएको र पिउनेहरुमध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् ।
यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका एकसयभन्दा बढी व्यक्तिलाई सुरुमा अस्पताल लगिएको जनाकारी दिए ।
तमिलनाडुका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै बुधबार मुख्यमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका) बाट निष्कासित भएका छन् ।
कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमितरूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनेर काम गर्नुअघि पिउने गर्छन् । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी साबित भएको छ ।
तमिलनाडु सुक्खा राज्य नभए पनि कालोबजारमा कारोबार हुने रक्सी कानुनीरूपमा बेचिने रक्सीभन्दा कम मूल्यमा आउँछ । यस्तो रक्सीमा शक्ति बढाउन मेथनोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।