काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि निमित्त नाम सिफारिस गर्नको लागि गठन भएको सिफारिस समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि सुरु गरेको छनोट प्रक्रिया रद्द गरेको हो ।
सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच जना उम्मेदवारमध्ये तीनजना अन्तरवार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल रहेको अवस्थामा शुक्रबार समितिले सबै प्रक्रिया रद्द गरेको हो । समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा योग्यता पुगेका उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको भए पनि सिमितिले सबै प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।