काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्णरूपमा स्तरोन्नति गरेको छ ।
टेलिकमले पुरानो कपर नेटवर्क बन्द (सटडाउन) गरी एफटीटीएच सेवामा स्तरोन्नति गरेको हो । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएका छन् । दूरसञ्चार कार्यालय, नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरेकी थिइन् । सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले टेलिकमले समयअनुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताइन् । कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रीना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुलीलगायत विभिन्न वक्ताहरूले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए ।
दूरसञ्चार कार्यालय नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा पाँच हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गतेबाट सञ्चालनमा आएको जानकारी दिए ।
हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको उनले बताए । एफटीटीएच प्रविधिअन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्।