काठमाडौं । शशिला मोटर्स प्रालिले भेन्चे ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा तीन सय किलोमिटर गुड्ने यो बसमा चार सय एनएमको टर्क र एक सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।
सीएटीएल एक सय २३ किलोवाटको ब्याट्री जडान हुने यो बसमा पूर्णरूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ । यसको लम्बाइ भने २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् । एक सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । उनले बस आइपुग्नुभन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई विनाझञ्जट सेवा दिने पनि बताए ।
दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बसको मूल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सोभन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।
विगत दश वर्षदेखि व्यावसायिक गाडीहरू बिक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रालि पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक विक्रेता रहेकोमा अब नेपालको लागि भेन्चे ब्रान्डका सबै बस तथा भ्यानहरूको पनि आधिकारिक विक्रेता बनेको छ ।