काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था होटल अलफ्टमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको उपस्थितिमा आइतबार साँझ होटल अलफ्टमा सो कार्यक्रम सम्पन्न भएको एमच्यामले जनाएको छ ।
सो अवसरमा राजदूत थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरूलाई आफूहरूको सदैव साथ र सहयोग रहने उल्लेख गरे । सो अवसरमा अमेरिकी चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)का महाप्रबन्धक अमीरराज थापाले यस मेम्बर लर्निङ कार्यक्रमले सदस्यहरूका बीचमा अमेरिकी कार्य संस्कृतिको ‘क्रस पोलिनेसन’ गर्ने बताए ।
‘एमच्यामको यसप्रकारको कार्यक्रमले हाम्रा सदस्य कम्पनीमार्फत नेपालमा अमेरिकी कार्य संस्कृति कस्तो छ भन्ने उदाहरण पेस गर्नेमा हाम्रो विश्वास छ’, उनले भने ।
काठमाडौं पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित होटल अलफ्टले स्वदेश तथा विदेशी पर्यटकलाई विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । आधुनिक प्रविधिले सु–सज्जित होटल छाया देवी कम्प्लेक्समा अवस्थित छ ।