विराटनगर । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त रुपमा आयोजित न्यायिक समितिको प्रदेशस्तरीय तीन दिने कार्यशाला/सम्मेलनको मंगलबार उद्घाटन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताएका छन् ।
जनतालाई न्याय दिने सवालमा राजनीतिक प्रतिनिधि भए पनि फैसलामा राजनीतिक गन्ध आउन नदिन सचेत हुनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । मुख्यमन्त्री कार्कीले भने, “तपाईंको फैसलाले न्यायिक समितिको विश्वास बढ्छ, त्यसैले कुनै पनि मुद्दाको फैसला नेपालको संविधान र कानुनअनुसार गर्नुहोला ।”
सेवाग्राहीले औँला नठड्याउने गरी गर्ने फैसला सर्वमान्य हुने भएकाले अदालत जाने मुद्दा त्यहीँबाट टुङ्गिने र जनताको खर्च पनि कम हुने भएकाले यसतर्फ सचेत रहन उनको सुझाव थियो ।
उनले स्थानीय तहमा आउने विवाद र मुद्दाको सही फैसलाले जनतालाई जोड्न अझ सहज हुने धारणा राख्दै आर्थिक रुपमा हामी अहिले सङ्कुचनमा परेपनि न्यायिक समितिलाई बलियो तथा सुदृढ बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
सबै भन्दाबढी सेवा लिने ठाउँ स्थानीय तह भएकाले यो तहलाई बलियो बनाउनु आजको आवश्यकता भएको उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले भने, “आजको कार्यशालाले न्यायिक समितिलाई अझ प्रभावकारी बनाउन मद्दत गर्दछ ”।