म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट पहिरो खसेपछि सवारीसधान पुरिएरअहिले यातायात अवरुद्ध भएको छ । बर्खामा बैंसरी खण्डमा यात्रा निकै जोखिम हुनेगरेको स्थानीयको भनाइ छ ।
बा ०२६ च ७०५३ नम्बरको इको भ्यान मुस्ताङबाट यात्रु लिएर फर्किदै गर्दा म्याग्दीको रघुगंगा गाउँपालिका –२ मा पर्ने बैंसरी पहिरोमा मङ्गलबार राति पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले पहिरोमा पुरिँदा भ्यानमा क्षति पुगे पनि यात्रुको तत्काल उद्धार गरिएकाले कुनै मानवीय क्षति नभएको बताएका छन् ।
सडकमा खसेको पहिरो पन्छाएर केहीबेर यातायात सञ्चालनमा आए पनि पहिरो खस्नेक्रम नरोकिएको हुँदा भ्यान निकाल्न नसकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत करिब आधादर्जन स्थानमा बर्षातको समयमा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । बर्षातको समयमा सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या परेको छ ।