काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेशिनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । जीपी कोइराला मेमोरियल कलेजको १३औँ वार्षिकोत्सव समारोहमा सहभागी शिक्षा एवं राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले त्यस्तो जोड दिएका हुन् ।
उनीहरूले नेपाली विद्यार्थीलाई देशमै रोक्न गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरण निर्माण गर्नतर्फ त्यसतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय स्थापनाको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै अध्ययनकै लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि आवश्यक विषय यहाँ पढ्न पाउने गरी व्यवस्था गरिने बताए । उनले पढ्दै, कमाउँदै, सिक्दैजस्ता कार्यक्रमलाई पनि नेपालमा प्रभावकारीरूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले नेपाली विद्यार्थी स्वदेशमै रोकेर करोडौँ रुपैयाँ नेपालमै उपयोग गरिनुपर्ने बताए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य बिना पोखरेल पराजुली, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति भूपेन्द्र बस्नेत, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीलगायतले चाहेको विषय अध्ययन गर्न नपाई विदेश जान बाध्य हुने विद्यार्थीलाई लक्षित गरी कलेजले विषय व्यवस्थापन गर्न लागेको बताएका थिए ।
स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विसं २०६९ असार १८ गते कलेजको स्थापना भएको थियो । कलेजमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन भइरहेको छ । कलेजमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको प्राध्यापक राजकुमार ढुङ्गानाले जानकारी दिए ।