काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यले सार्वजनिक जग्गा मिचेर घर बनाएको पाइएको छ । उनले मन्दिर र गुठीको जग्गा मिचेर घर पर्खाल बनाएको पाइएको हो ।
ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएको आयुक्त अमात्यको घरको पर्खाल बुधबार भत्काइदिएको छ । स्थानीय र गुठियारको विरोधपछि मिचिएको जग्गामा बनेको पर्खाल भत्काउन महानगरले आयुक्त अमात्यलाई आदेश दिएको थियो । तर उक्त आदेश आयुक्त अमात्यले अटेर गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित आयुक्त अमात्य र दिवस अमात्यको घरको कम्पाउन्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए । वडा नं १० चाकुपाटमास्थित तःननी, चाबा, मिखाबहाल र अमात्य गुठी मिचिएको जग्गामा बनेको संरचना डोजर लगाएर भत्काएको उनले जानकारी दिए । ‘हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरूले भत्काउनु भएन, गुठियारले धेरै आग्रह गरेपछि डोजर नै चलाउनुपर्यो’, नगरप्रमुख महर्जनले भने । गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहनाबमोजिम मात्र काम हुने उनले बताए । ‘हामी समयसापेक्ष कार्यान्वयन गर्न लागिपर्नेछौँ, सार्वजनिक, पर्ती जग्गा संरक्षण गर्नेगरी महानगरको नगरसभाबाट निर्णयसमेत भएको छ । चार पाँच वटा गुठीको भोज गर्ने स्थानलाई तहसनहस पार्न खोजिएकाले भत्काइदिएका हौँ’, उनले भने ।
पाटनका स्थानीय तथा गुठियार कुलाल डङ्गोलले अमात्यहरूको दुईतले भवन भएको ठाउँ भत्काएर अतिक्रमण गरिएको बताए । पटक–पटक स्थानीयलाई दुःख दिएर गुठीको जग्गा दुरुपयोग गर्न खोजिएको र स्थानीय सरकारलाई लत्याएर गरिएको कामको विरोध गरेको उनले जानकारी दिए । तःननी गुठीका गुठियार सुरेशमान महर्जनले गुठीकै आग्रहमा महानगरले संरचना भत्काउने काम गरेको जानकारी दिए । ‘त्यो सार्वजनिक जग्गा भए पनि गुठीका नाममा लालपुर्जा बनिसकेको छ । कित्ता नं ३१६ मा देवाली गुठीका नाममा चार रोपनी जग्गा छ’, उनले भने ।