भैरहवा (रुपन्देही) । भैरहवामा सञ्चालित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरू आकर्षित भएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणले सेजमा देखिएका समस्या समाधान गर्दै लैजाने र कानुन संशोधन गर्ने भएपछि उद्योगीहरू आकर्षित भएका हुन् ।
भैरहवाको विशेष आर्थिक क्षेत्रमा अहिले कुनै पनि प्लट खाली छैनन् । ५२ बिगाहामा रहेका ६९ वटा प्लट सबै भाडामा गइसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुलसीराम मरासिनीले जानकारी दिए । अहिले सेजमा शक्ति मिनरल्स प्रालि, विस्तार ग्लोबल प्रालि, तिरुपति मेटल प्रालि, ब्रिलियन्ट लाइटिङ इन्डस्ट्री, पञ्चकन्या एसएस प्रालि, यस प्लास्टिक प्रोडक्ट, जय बुद्ध मेटल क्राफ्ट र हिमालयन ग्रेनाइट गरी आठ उद्योग सञ्चालनमा छन् । इको नेपाल इनर्जी प्रालि, आर्शी इन्डस्ट्रिज र स्पर्ट इलेक्ट्रोनिक इन्डस्ट्रिज निर्माणका चरणमा छन् । यसबाहेक मिशाख शेख, लार्के हिमाल जडीबुटी प्रालि, ह्वाइट माउन्टेन माइनिङ प्रालि, दीपेश चालिसे, राहुल जैन, तान्याएग्रो प्रालि र डाटा वल्र्ड प्रालिले भैरहवा सेजसँग सम्झौता गरेका छन् ।
महङ्गो भाडा, सीमामा निर्यातका कठिनाइ, उद्योगलाई कर्जालगायतका समस्या सेजमा रहेका उद्योगीहरूको गुनासो छ । उक्त गुनासो सरकारले सम्बोधन गर्दै लगेको निमित्त कार्यकारी निर्देशक मरासिनीको भनाइ छ । विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा सेजमा स्थापना भएका उद्योगबाट उत्पादित कम्तीमा साठी प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्था रहेको थियो । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबमोजिम सो प्रावधानलाई संशोधन गरीे उत्पादन सुरु गरेको मितिले चार वर्षसम्म, उत्पादनको कम्तीमा १५ प्रतिशत र त्यसपछिका वर्षमा उत्पादनको ३० प्रतिशत वस्तु तथा सेवा निर्यात गर्नुपर्ने व्यवस्था राखिएको छ ।
सेजमा स्थापित उद्योग सञ्चालनमा आएको मितिले एक वर्षभित्र त्यस्तो उद्योगबाट उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्ने प्रावधानलाई तीन वर्ष बनाइएको मरासिनीले बताए । सुरुमा अनुमतिपत्र लिई वा दर्ता भई सञ्चालनमा रहेको उद्योगको लगानीकर्ताले उद्योग सेजमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्न नसक्ने र प्रयोगमा ल्याइसकेका मेसिन, औजार वा उपकरण सेजमा प्रयोग वा हस्तान्तरण गर्न नसकिने व्यवस्था थियो । हाल उक्त व्यवस्था संशोधन गरी सेजमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न सकिने व्यवस्था छ ।
उद्योगीहरूले सेजमा उद्योग स्थापना गर्न प्राधिकरणले विभिन्न सहुलियत दिनुपर्ने बताएका छन् । सेजको भाडा सुरुमा प्रतिवर्गमिटर एक सय ५० रुपैयाँ तोकिएकामा अहिले परिमार्जन गरी २० रुपैयाँ तोकिएको छ । उद्योगीहरूले यो शुल्क पनि महंगो भएको गुनासो गरेपछि पुनः १० रुपैयाँमा झार्ने तयारी प्राधिकरणले गरेको छ । मरासिनीले सेज नाफा कमाउन नभई नेपालमा रहेका उद्योगीलाई अधिकतम अवसर प्रदान गर्ने उद्देश्यले खोलिएको बताए । यसका लागि उद्योगीहरूलाई आवश्यक वातावरण मिलाउन प्राधिकरणले अधिकतम लचकता अपनाउने उनको भनाइ छ ।
आर्थिक वर्ष २०७६/७७ मा सेजबाट १४ करोड ८० लाख रुपैयाँको निर्यात बिक्री, पाँच करोड ६४ लाख रुपैयाँको आन्तरिक बिक्री गरी २० करोड ४४ लाख रुपैयाँको बिक्री गरेको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा ८५ करोड ४७ लाख रुपैयाँको निर्यात तथा १८ करोड तीन लाख रुपैयाँको आन्तरिक गरी एक अर्ब तीन करोड ५० लाख रुपैयाँ, आव ०७८/७९ मा ४२ करोड २४ लाख निर्यात ३० करोड ६६ लाखको आन्तरिक गरी ७२ करोड ९० लाख रुपैयाँको बिक्री भएको छ । आव २०७९/८० मा ४५ करोड ४१ लाखको निर्यात, ३८ करोड ७९ लाखको आन्तरिक गरी ८४ करोड ५९ लाख रुपैयाँको बिक्री गरेको सेजले चालू आवमामा ५३ करोड नौ लाखको निर्यात तथा २८ करोड ५० लाख आन्तरिक गरी ८१ करोड ५९ लाख रुपैयाँको बिक्री गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
सेज सहजरूपमा सञ्चालन गर्ने विषयमा आर्थिक क्षेत्र प्राधिकरणले आज भैरहवामा अन्तर्क्रिया गरेको छ । उक्त अन्तक्र्रियामा उद्योगीहरूले उद्योग सुरु गर्दा पाएको आश्वासन पूरा नभएको भन्दै गुनासो गरेका थिए । सेजको मूल मर्म एकद्वार प्रणाली अहिलेसम्म लागू नभएकाले उद्योगीहरूले यसको सहजीकरण गर्न प्राधिकरणलाई आग्रह गरे । अन्तर्क्रियामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सेजमा अहिले पनि बाहिरभन्दा जग्गा भाडा महंगो रहेको बताए । सेजमा आवश्यक आधारभूत खानेपानी, विद्युत्, सरसफाइलगायत समस्या पनि रहेको उद्योगीको भनाइ थियो ।