टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि जलमग्न भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएर घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।
बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेको उनले जानकारी दिए । “वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्”, नगरप्रमुख चौधरीले भने, “डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।”
भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । “अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन्”, नगर प्रमुख चौधरी भन्छन्, “पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पर्यौँ ।”
बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेका छन् । “घरमा भएका सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ”, उनले भने, “सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्यो ।”
लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए ।
यसैगरी कैलारी गाउँपालिका–७ रामपुरमा लगातारको वर्षापछि बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।
एक जनाको मृत्यु: कैलालीमा काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक युवतीको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको कटैनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।