भजनी (कैलाली) । जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको छैन ।
“असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पीडामा मल्हम लगाउने कोही छैन”, सन्तराम भन्नुहुन्छ, “बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरू त्यो बीचको समयमा कोही पुग्दैनन् । नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरूको बेवास्ताका कारण बर्सेनि हामीलाई सास्ती हुँदै आएको छ ।”
भजनीका शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उहाँलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । “प्रायः रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । अँध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ”, शर्मिला भन्छिन, “जन्मिँदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम श्वाससम्म पनि बाढीको चिन्ताले छोड्लाजस्तो लाग्दैन ।”
बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नुभन्दा सधैँका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेका क्षितिज चौधरीले राससलाई बता । बर्खायाममा डुबानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र सङ्घ तथा प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न पहल गर्नुपर्नेमा उनले जोड दिए ।
“राहत यसअघि पनि पाएका थियौँ, फेरी पाइन्छ । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने ?”, क्षितिज प्रश्न गर्छन, “राहतबापत आएको चाउचाउ, चिउरा र एक बोतल पानीले एकपटकको भोक र प्यास मेटिन्छ तर हाम्रो दुःख मेटिनेगरी काम होस् भन्ने चाहना छ ।”
भजनी–१ ठेङ्गरपुरका भलमन्सा राजु चौधरीको बुधबार आएको कान्द्रा नदीको बाढीले घरमा भएका सबै खाद्यान्न सामग्री नष्ट भएका छन् । एकाएक नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्नसहित आवश्यक सामान सुरक्षित गर्न नसक्दा नष्ट भएको राजु बताउछन् । “खासै वर्षा भएको थिएन । एकाएक बाढी बस्तीमा पसेपछि धनमाल जोगाउन सकिएन”, उनले भने, “आफ्नो आवासको व्यवस्थापन कता गर्ने, खाद्यान्नको व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।”
सोही ठाउँका कल्लु चौधरी कान्द्रा बर्सेनि दुःख बनेर आउने गरेको बताउछन् । “बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो । कुनै वर्ष छैन होला घर छाडेर त्रिपालमा गएर बस्नु नपरेको”, उनी भन्छन्, “स्थानीयको समस्या तिनै तहका सरकारलाई जानकारी हुँदा पनि दीर्घकालीन समस्या समाधानतर्फ ध्यान जान सकेको छैन ।” स्थानीय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी स्थानीय सरकारको स्रोतले यहाँका नागरिकलाई ओभानोमा राख्न सक्ने स्थिति नरहेको बताउछन । प्रदेश र सङ्घ सरकारसँग समस्या समाधानका लागि आग्रह गरिएको भन्दै हालसम्म भजनीको दुःखमा मल्हम लगाउन नसकेको उनी बताउछन् ।
“म आफैँ पनि बाढीबाट प्रभावित हुँदै आएको छु । यसवर्ष नगरपालिका क्षति कम गर्ने योजनाअनुसार पूर्वतयारीमा लागेको छ । यसमा प्रदेश र सङ्घ सरकारले सहकार्य र समन्वय गर्ने विश्वास लिएका छौँ”, नगरप्रमुख चौधरी भन्छन् । दीर्घकालीन रुपमा नदी नियन्त्रण नहुँदा बर्सेनिको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ ।
भजनी नगरपालिकामा काढा, कान्द्रा र पथरैया नदीको बाढीले बर्सेनि हजारौँ नागरिक विस्थापित हुँदै आएका छन् । बाढीबाट प्रभावित नागरिकका लागि हुलाकी राजमार्ग आश्रयस्थल बन्दै आएको छ ।