नयाँ दिल्ली, असार ७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना सुरु गरेका छन् । विशेष गरी बसाइ सरेर आएका कामदारलक्षित यस्तो योजनाको सुरुवात गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसका कारण लकडाउन लागू भएपछि धेरै कामदारहरुको रोजगारी गुमेकाले सरकारले रोजगार योजना सुरु गर्नुपरेको हो । सो योजनालाई ‘गरिब कल्याण रोजगार अभियान’ नाम दिइएको छ । यस योजना अन्तर्गत विषेश गरेर ग्रामिण क्षेत्रमा काम गर्नका लागि प्रेरित गरिने भएको छ ।
कोरोनाभाइरसले ग्रमिण क्षेत्रको महत्व र ग्रामीण क्षेत्रलाई आधार बनाउनुपर्छ भन्ने सिकाएको पनि प्रधानमन्त्री मोदीले बताए । सहरबाट गाउँ फर्केकाहरुलाई गाउमै सहयोग गर्नका लागि रोजगार योजनामार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाइ छ । क्षमतावान् व्यक्तिहरु गाउँमा बसेर काम गरेमा आर्थिक वृद्धिदर तीव्र गराउन पनि ठूलो सहयोग पुग्ने प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे । सहरबाट गाउँ गएकाहरुलाई घरनजिकै रोजगारी दिलाउने र गाउँको विकासमा लगाउने सरकारको मुख्य प्राथमिकताको विषय भएको उनले बताए ।
प्रधानमन्त्री मोदीले ग्रामिण क्षेत्रको भौतिक विकासमा पनि सरकारले विशेष जोड दिने जानकारी गराउदै गाउँगाउँमा इन्टरनेट पु¥याइने बताए । गरिब कल्याण रोजगार अभियानको सुरुवात प्रधानमन्त्री मोदीले विहारको कतिहारबाट अनलाइन भिडियोमार्फत गरेका थिए । उद्घाटन कार्यक्रममा विहार, मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान र झारखण्ड प्रदेशका मुख्यमन्त्रीहरु र उडिसाका मन्त्री सहभागी भएका थिए ।
एकै दिन साढे १४ हजार संक्रमित : भारतमा गएको २४ घण्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन् । यो सँगै भारतमा संक्रमितको संख्या चार लाखको नजिक पुगेको बताइएको छ ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म तीन लाख ९६ हजार १ सय ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किनेको संख्या दुई लाख १४ हजार २ सय ९ रहेको छ । यहाँ अझै उपचाररत एक लाख ६८ हजार २ सय ६९ रहेको बताइएको छ । (रासस/एएनआई)