दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीनजानामध्ये एक जनाको शनिबार राति र दुई जनाको आइतबार बिहान शव फेला परेको छ । हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर उनीहरु बेपत्ता भएका थिए ।
पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी गराए । रायले शव परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिए ।
पहिरोमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।