दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट र नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मतरुपमा पारित भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५४ करोड १५ लाख ९० हजारबराबरको बजेट ल्याएको थियो ।
पालिका अध्यक्ष छवि लामाको अध्यक्षयतामा सोमबार बसेको गाउँसभाले गाउँपालिकाकी उपप्रमुख कल्पना उप्रेतीले १५औँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई सर्वसम्मतरूपमा पारित गरेको हो । गाउँपालिकाले आगामी वर्षको लागि आर्थिक विकासतर्फ सात करोड ६५ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १६ करोड ४२ लाख, सामाजिक विकासतर्फ १८ करोड ९५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा दुई करोड पाँच लाख, प्रशासनिक खर्चतर्फ नौ करोड आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै पालिकाले आन्तरिक आम्दानी राजस्वतर्फ एक करोड ८० लाख हुने प्रक्षेपण गरेको छ भने संघीय सरकार समानीकरण अनुदान ११ करोड ६७ लाख, ससर्त अनुदान २० करोड ९४ लाख, विशेष अनुदान दुई करोड ९० लाख र राजस्व बाँडफाँटतर्फ आठ करोड ८० लाख प्राप्त हुने जनाएको छ ।
त्यसैगरी प्रदेश सरकारले समानीकरण अनुदानतर्फ एक करोड २० लाख, ससर्त अनुदान दुई करोड २१ लाख, विशेष अनुदान ८० लाख, समपूरक अनुदान दुई करोड र प्रदेश राजस्व बाँडफाँटतर्फ एक करोड ८२ लाख रकम प्राप्त हुने उल्लेख गरेको छ । यस्तै पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि आठसम्मका विद्यार्थीलाई दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने, पालिकाभित्रका सडकलाई स्तरोन्नति गर्दै पक्की सडक बनाउने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने, महिलाको नाममा व्यवसाय गर्दा ७० प्रतिशत छुट दिने, पालिकाभित्रका किसानलाई दूधमा दुई रुपैयाँ प्रोत्साहन अनुदान दिनेलगायतको व्यवस्था गरेको छ ।
त्यसैगरी गाउँसभामाले वन ऐन २०८१ र अस्थायी करार कर्मचारी ऐन २०८१, वैतेश्वर अस्पताल सञ्चालन कार्यविधि २०८१, विपत् न्यूनीकरण तथा व्यवस्थापन कार्यविधिलाई पनि सर्वसम्मतले पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले जानकारी दिए ।