काठमाडौं, असार ८
लक्ष्मी बैंकले दोहा बैंक दुवईबाट २० मिलियन अमेरिकी डलरबराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । बैंकका अनुसार यो ऋण तीन आगामी तीन वर्षको लागि प्राप्त गरिएको हो । यही वैशाख १५ गते लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा दोहा बैंकका तर्फबाट नेपालस्थित कन्ट्रीहेड सुरजविक्रम शाहीको उपस्थितिमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको जानकारी लक्ष्मी बैंकले दिएको छ । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब आठ करोड ९९ लाख ७७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब दुुई करोड ९६ लाख ३३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ९७ अर्ब ३६ करोड ३३ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ९८ करोड ६० लाख १२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ६१ करोड चार लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड ५९ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब १९ करोड ६२ लाख १७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।