केन्द्रीय बैंकले चालू आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दा देशको अर्थतन्त्रमा धेरै नै सुधार आएका देखाउने तथ्याङ्कहरू उल्लेख भएका छन् । त्यसमा महँगी घटेको, बजार चलायमान भएको, विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्वरूपले वृद्धि भएको चालू खाता र शोधनान्तर स्थिति बचतमा रहेकोजस्ता विवरणहरू परेका छन् । केन्द्रीय बैंकबाट यस्तो समीक्षा सार्वजनिक गरिएकै दिनयता बजारको अवस्था कति नाजुक छ भन्ने देखिने अनौपचारिक क्षेत्रबाट गरिएका अध्ययन विवरणहरू पनि आए । त्यसमा खाद्यान्नको बजार मूल्य दुई सय प्रतिशतसम्म बढेको र केन्द्रीय राजधानीका मुख्य सडकछेउका पसलहरू धेरैजसो ताला लगाएर भाडामा राखिएको भन्ने जानकारी थियो । यसपटकको दशैँमा पनि बजारमा चहलपहल त्यति नभएको भनेर त्यसबेला पनि यसरी नै खासगरी बजारको अवस्था देखाउने रिपोर्टहरू आएका थिए । चालू वर्षको असार अन्तिम दिनतिरको अर्को रिपोर्टमा राज्यको आम्दानी र खर्च दुवै घटेको भन्ने छन् जसले निराशाको सङ्केत गर्छन् ।
राष्ट्र बैंकको तथ्याङ्कले मूल्यवृद्धि नियन्त्रणोन्मुख रहेको भन्छ तर बजार छोईनसक्नुको अवस्थामा छ ।
सरकारको बुझाइमा पछिल्लो समय अधिक वर्षाले सडक, पुल भत्काएको र यातायातमा कठिनाइ परेकाले खाद्यान्नजस्ता वस्तु महँगिएको भन्ने छ । यो पनि एउटा कारण होला तर पसलहरू किन खालीखाली भइरहेका छन् ? ठूलाठूला मलहरूसमेत किन सुनसान छन भन्ने प्रश्न निरुत्तरित नै छ । चालू वर्षको मध्यदेखि ब्याजदर खर्लप्पै घटेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको थुप्रो लागिरहेको छ । तर लगानी गर्ने माग भने भइरहेको छैन । यस्ता थुप्रै संकेतहरू छन् जसले आन्तरिक अर्थतन्त्र चलायमान बन्न नसकेको नै भन्ने बुझाउँछ । महँगीका बारेमा सधैं उठ्ने गरेको सवाल हो । केन्द्रीय बैंकको तथ्याड्ढमा घटेको महँगी बजारमा झन् किन बढिरहेको हुन्छ ? तथ्याङ्क भन्छ महँगी घट्यो उपभोक्ता भन्छन् घटेको अनुभूति नै भएको छैन । राष्ट्र बैंकको समीक्षाअनुसार गत जेठ महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १७ प्रतिशत कायम छ । तुलननाका लागि एक वर्षअघि जेठ महिनामा मुद्रास्फीति छ दशमलव ८३ प्रतिशत थियो । बैंकको विवरणमा खाद्य तथा पेयपदार्थ समूहको पाँच दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको दुई दशमलव ९४ प्रतिशत मूल्यवृद्धि भएको छ । तर वस्तु वा सेवा उपभोक्तासम्म आइपुग्दा त्यो प्रतिविम्बित हुँदैन भने सरकारी तथ्याङ्कमाथि नै शंंकाहुन थाल्छ ।
त्यसकारण विज्ञहरू यदि मूल्य घटेको हो भने त्यो बजारमा नै प्रकट हुनुपर्छ भन्छन् । बैंककै भनाइअनुसार पनि तरकारीको मूल्यवृद्धि १६ दशमलव शून्य दुई प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव ७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको छ दशमलव ९८ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको पाँच दशमलव ९५ प्रतिशतले मूल्य बढेको छ । घ्यू तथा तेल उपसमूहको मूल्य पाँच दशमलव ५१ प्रतिशतले घटेको छ । यो ठाउँमा पनि कैफियत देखिन्छ । जुन वस्तुको मूल्य बढेको छ उपभोक्ताले त्यसअनुसार नै मूल्य तिर्नुपर्छ भने घटेको मूल्यमा चाहिँ वस्तु नै पाइँदैन । बजारमा राज्यको कमजोर उपस्थितिका कारण पनि यस्तो भएको हुनुपर्छ । राष्ट्र बैंकले अध्ययन गर्दा यस्ता पक्षहरूप्रति पनि ध्यान जानुपर्ने देखिन्छ । त्यसो भएन भने सधैँ नै तथ्याङ्क एकातिर र वास्तविकता अर्कोतिर भइरहने हुन्छ । यो परम्परा हट्नुपर्छ ।