काठमाडौं । माछापुच्छ्र्रे बैंक यही असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले साउन एक गतेबाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक लि, सनराइज बैंक लि र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन् ।
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गर्नुभएका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आबद्ध रहेका छन् ।
जमरकट्टेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रूपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्यान्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् । उनीहरू दुवै जना आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् ।