काठमाडौँ । गत शुक्रबार पहिरोसँगै चितवनको सिमलतालमा त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको जानकारी दिए । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिएका छन् ।
सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘र्याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौ जना परिचालित भएका छन् ।
उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् । त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।