उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वटा उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ । मन्त्रालयका अनुसार ललितपुरको एग्रो थाइ फुड, सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने अनुमति पाएका हुन् । विराटनगरको शिवम् डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले पनि चिनी आयात गर्ने अनुमति पाएका छन् ।
यी उद्योगहरूलाई चिनी आयातको लागि उद्योग विभागसँग समन्वय गर्न आग्रह गरिएको छ । कोटा प्रणालीअन्तर्गत आयात गर्न बाँकी रहेको १९ हजार मेट्रिक टन चिनी आयातको लागि अनुमति दिइएको उद्योग विभागले जनाएको छ । १० वटा कम्पनीहरूले आवश्यकताअनुसार एक, दुई र तीन मेट्रिक टन चिनी आयात गर्न इच्छुक रहेका छन् । आवेदनमा उनीहरूले पाँचदेखि छ मेट्रिक टन समेत चिनी आयातको लागि अनुमति माग गरेका विभागले जनाएको छ । तर, ठूलो परिमाणमा चिनी आयात गर्न नसक्ने हुँदा भएको परिमाणमार्फत बाँडफाँट गर्नेगरी आयात गर्न दिन लागिएको विभागका निर्देशक अर्जुन सेन ओलीले बताए ।
निर्देशक ओलीले उद्योगीहरू चिनी आयात गर्न इच्छुक देखिएको हुँदा कोटाअन्तर्गतको बाँकी परिमाणको चिनी आयात गर्नको लागि अनुमति दिएको बताए । ‘सुरुमा २५ हजार मेट्रिक टन आयातको लागि खुला गरिएकोमा छ हजार मेट्रिक टन आयात गरिएको थियो त्यसपपछि बाँकी रहेको १९ हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिइएको हो’, निर्देशक सेनले भने, ‘औद्योगिक कच्चापदार्थको रूपमा प्रयोग गर्ने उद्योगलाई मात्र अनुमति दिइएको हो ।’
भारतको ‘नेसनल कोअपरेटिभ एक्सपर्टस लिमिटेड इन्डिया’ मार्फत उक्त परिमाणको चिनी नेपाललाई बिक्री गर्न लागिएको हो भने नेपाल सरकारले उक्त चिनी औद्योगिक कच्चापदार्थ प्रयोगका लागि मात्र आयात गर्न अनुमति दिएको हो । सरकारले चिनी सहुलियत दरमा आायत गर्न दिने हुँदा सेटिङमा चिनी आयात हुनेगरेको व्यवसायीहरूको आरोप छ । सरकार परिवर्तनसँगै चिनीको कारोबार गर्ने कारोबारीहरूले सेटिङ गरी चिनी आयातको कोटा खुलाउने गरेको सरकार र व्यवसायीहरूमाथि आरोप छ । अधिकांश आयात हुने चिनी मल्टिनेसनल कम्पनीले आयात गर्ने र बाँकी सीमित परिमाण भने अन्य उद्योगहरूलाई आयात अनुमति दिनेगरेको व्यवसायीहरूको भनाइ छ । चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउन चिनी व्यवसायीले सहुलियत दरको चिनी आयात खुला गर्न अर्थ मन्त्रालयमा व्यापक दबाब दिनेगरेका छन् ।
चिनी आयात गर्न आवेदन दिनमा अधिकांश बिस्कुट, चकलेट र जुसलगायतका उद्योग छन् । उनीहरूलाई ठूलो परिमाणमा चिनी आवश्यक पर्ने भए पनि सरकारले सीमित परिमाण तोकेको भएर सोहीअनुरूप आयात गर्ने तयारीमा उद्योगीहरू छन् । भारतबाट चिनी आयात गर्न सकिएन भने अधिकांश कन्फेक्सनरी, चलकलेट र जुस बनाउँदै आएका उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने हुँदा चिनी आयातको लागि सहज गरिदिनुपर्ने माग उद्योगीहरूको छ । चिनीको ट्रेडिङ कारोबारीबाट महँगो मूल्यमा चिनी खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने अवस्था रहेका हुँदा सरकारले सहजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ । चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउने स्वार्थमा समेत व्यापारीहरू लागेको हुँदा उद्योगीहरू समस्यामा पर्नेगरेका छन् । चिनी व्यापारीहरूले अभावको भ्रम फैलाएर महँगो मूल्यमा समेत बेच्ने गरेको पाइन्छ ।