काठमाडौं, असार ८
कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले संकलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८ सय ३९ जनाको मृत्यु भएको हो ।
त्यसैगरी विश्वभरी संक्रमितहरुको संख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । विश्वभरी कुल संक्रमितमध्ये ४७ लाख ४३ हजार ८ सय ९ जना संक्रमणमुक्त भएको जनाइएको छ । त्यसैगरी ३७ लाख १२ हजार ३७६ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ३६ लाख ५७ हजार ८ सय ७१ जना जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ५ सय ५ जना गम्भीर अवस्थामा रहेका छन् ।
पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै संक्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ५८ जना संक्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना संक्रमित रहेका छन् । संक्रमितको संख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् ।
सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको संख्या एक लाख २१ हजार ९ सय ८० रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३ सय २२ जनाको मृत्यु भएको तथ्यांक छ ।