काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८०/८१ मा सातवाटै प्रदेशमा रहेका आफ्ना विभिन्न एक सय ३४ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका छ, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका नौ तथा सुदूरपश्चिम प्रदेशका आठ शाखामार्फत विभिन्न उमेरसमूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरूको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ प्रणाली मजबुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । आफ्ना शाखा कार्र्यालयहरूमार्पmत बैंकले विभिन्न विद्यालय र संघसंस्थालाई सहयोग प्रदान गरेको हो । जसअन्तर्गत बैंकको चामे शाखाले चामे मनाङमा अवस्थित श्री लोकप्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई न्यानो स्वेटर उपलब्ध गराएको छ । त्यस्तै बैंकको कोहलपुर शाखाले कौसिल्य अस्पताल कोहलपुर, बाँकेसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधि वितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब एक सय जना व्यक्ति लाभान्वित भएका छन् । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई पाँच थान बेन्च उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६० वटा एटीएम, तीनवटा विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।