काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक प्रविधिको ईसीजी मेसिन जडान गरिएको छ । सान्भी फाउन्डेसन अष्ट्रेलियाले अत्याधुनिक १२ लिडको मोनिटरसहितको ईसीजी मेसिन सो विभागलाई दिएको हो ।
शिशुहरूको मुटुसम्बन्धी समस्याहरू सहजरुपमा पहिचान गर्न यस मेसिनले सहयोग गर्नेछ । साथै बिरामी भएकै ठाउँमा लैजान मिल्ने ‘पोर्टेबल’ मेसिन भएकाले झनै सहज हुने विभाग प्रमुख डा. गेहराज दाहालले बताए । भविष्यमा अत्याधुनिक शिशु अप्रेसन थिएटर आवश्यक रहेको समेत बाल शल्यचिकित्सक डा. दिनेश कोइरालाले बताए ।
शिशु शल्य चिकित्सामा सबैभन्दा जटिल अपरेसन समेत हुने यस विभागमा अपरेसनकक्षलाई सोहीअनुसार ढाल्नुपर्ने भए पनि बजेट अभावले त्यसो गर्न नसकिएको डा. कोइरालाले जानकारी दिए । सान्भी फाउन्डेसन अष्ट्रेलियाले हालै एक कार्यक्रमका बीच सो मेसिन विभागलाई हस्तान्तरण गरेको थियो । हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विभाग प्रमुख डा. गेहराज दाहाललाई इसीजी मेसिन हस्तान्तरण गरेका थिए ।