काठमाडौं । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सूचना प्रविधिका प्रतिभाहरुको विकाससँगै अन्तरसामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको हो ।
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका तीन सय विद्यार्थीमध्येबाट ३० जनालाई छनोट गरिएको थियो । कम्पनी गठन गरेको निर्णायकमण्डलले गत असार १७ मा गरेको अन्तिम अन्तरवार्तामा अन्तिम सूचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको हो । स्वतन्त्र निर्णायकमण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका डिन प्राडा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधितर्फका सहसचिव इन्दुविक्रम जोशी, सूचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आईएफएनका सहसंस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह सम्मिलित समूहले विद्यार्थीहरुको ज्ञान र क्षमताको मूल्याङ्कन गरेका थिए ।
विद्यार्थीहरुलाई नेतृत्व क्षमता, शैक्षिक तीक्ष्णता, सञ्चार कौशल, समूहगत सहकार्य, समयअनुकूल परिवर्तन हुनसक्ने तथा लचिलो प्रवृत्तिको समेत मूल्याङ्कन गरिएको थियो । हौसला, जोस, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सीप, नयाँ सोचसहित सामाजिक जिम्मेवारी लिने, नैतिकताजस्ता शीर्षकलाई छनोटका आधार बनाइएको थियो । शीर्ष स्थानमा रहन सफल विद्यार्थीहरु आशिष कार्की, एनजीलिना घिमिरे, प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की रहेका छन् । उनीहरुले अब क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन् । जुन विस २०८१ को भदौ महिनामा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा हुनेछ ।
अब हुने अन्तिम प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो समूह विस्तार, स्थानीय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट थप मार्गदर्शनको अवसर प्राप्त गर्नेछन् । वास्तविक व्यापारका अनुभव पनि कार्यक्रममा समावेश छ । विजेताहरुले चीनको डिजिटल पृष्ठभूमिको अनुभव गर्ने आकर्षक अवसर प्राप्त गर्नेछन् । चीनको सञ्चार प्रविधि क्षेत्र, उच्च प्रविधि कम्पनीसहित कार्य सञ्चालन विधिबारे अन्तरक्रियाको अवसर विद्यार्थीहरुले पाउनेछन् ।