काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुर जिल्लाबाट एसईई परीक्षामा सहभागी भई चार जीपीए ल्याएकी रितिका छत्कुलीलाई सम्मान गरेको छ । कम्पनीले ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८१’को छात्रवृत्ति कार्यक्रमअन्तर्गत छत्कुलीलाई नगद १० हजार एक रुपैयाँसहित सम्मान गरेको जनाएको छ ।
कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी सो छात्रवृत्ति कार्यक्रम आयोजना गरेको थियो । यस छात्रवृत्ति कार्यक्रममा एक सय ४५ विद्यार्थीहरु सहभागी भएका थिए । साथै कम्पनीले यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रङ्गशालामा बृहत् कार्यक्रम आयोजना गरेकोे थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगपालिकाका उपप्रमुख राजेश बानिया, एसईईमा उत्कृष्ट अङ्क ल्याउन सफल बनेको विद्यालय बाल जागृति इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकलगायतको सहभागिता थियो ।
यस छात्रवृत्तिका कार्यक्रमअन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिकरुपमा पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ । साथै सान्त्वनास्वरुप थप १२ विद्यार्थीलाई मासिकरुपमा एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा कम्पनीकोे आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा प्रकाशित गरिने जनाइएको छ ।