काठमाडौं । नेपालमा उत्पादित जडीबुटीको प्रभावकारी रुपमा बजारीकरण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सांसदहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन गर्दे कम्पनीको उत्पादन बजारीकरणमा समस्या रहेकोले यसमा जोड दिन आग्रह गरेका हुन् ।
सांसद मदनकुमारी शाहले कम्पनीका उत्पादन बजारीकरणको तहमा कमजोर रहेको बताइन् । नेपालमा उत्पादित जडीबुटीका उत्पादन प्रयोग गरौँ भन्ने खालका सन्देश प्रवाह गर्न उनले जोड दिइन् । सांसद पदमबहादुर परियारले उत्पादित वस्तुलाई बिक्री गर्न पनि प्रक्रियागत झन्झटका कारण समस्या रहेको बताए । ‘व्यापार गर्ने संस्थाको कार्यविधि नै पो परिवर्तन गर्नुपर्ने हो कि ? यसमा सोच्नुपर्छ’, उनले भने । नेपाल जडीबुटीको क्षेत्रमा ठूलो सम्भावना बोकेको र आर्थिक क्षेत्रमा ठूलो टेवा पुर्याउन सक्ने भएकाले यसको खोज, अनुसन्धान, उत्पादनमा प्राथमिकता दिनुपर्ने सांसदहरूको भनाइ थियो ।
समितिका सभापति मायाप्रसाद शर्माले लिमिटेडका पदाधिकारीलाई यसका समस्या लिपिबद्ध गरेर समितिलाई पठाउन आग्रह गरे । कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवले आगामी दिनमा ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बताइन् । ‘हामीले बजारको अध्ययन गर्दै आफ्ना उत्पादन बढाउँदै लगेका छौँ । यो वर्षदेखि शुद्ध मह पनि ल्याउने तयारीमा छौँ’, उनले भनिन्, ‘हाते प्रविधिबाट सञ्चालित सञ्चो उत्पादन हाल स्वचालित अत्याधुनिक मेसिनबाट उत्पादन हुँदै आएको छ । जसले गर्दा उत्पादन क्षमतामा पनि वृद्धि भएको छ ।’
बजारको मागअनुसार आपूर्ति गर्ने र विदेशमा निकासी गर्न कम्पनीको पूँजी, प्रविधि र जनशक्तिलाई पनि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताईन् । सञ्चालक समितिका अध्यक्ष डा सिन्धुप्रसाद ढुङ्गानाले बजारीकरणका सम्बन्धमा समस्या देखिँदै आएको बताए । ‘प्रतिस्पर्धाको जमाना छ । कतिपय सामानका बजारभाउ अनुसार बेच्न नसकिएको अवस्था छ । प्रक्रियागत हिसाबले भाउ तोक्दा अर्को पटक भाउ फेरिसकेको हुन्छ । जसले गर्दा बिक्रीमा असर पुग्छ’, उनले भने । विसं २०३८ मा सो कम्पनीको स्थापना भएको थियो । सरकारी स्वामित्व भएको सो संस्थाले नेपालमै पाइने जडीबुटीको कच्चापदार्थबाट सञ्चो, सञ्चो बाम, दुखाइ कम गर्ने तेल, ह्यान्ड सेनिटाइजर, शिलाजित तथा विभिन्न औषधि तथा सुगन्धित तेल उत्पादन गर्दै आइरहेको छ ।