काँक्रेविहार,जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । गए राति ९ः३० बजेको समयमा कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार जना गम्भीर घाइते भएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न आज कर्णाली प्रदेश अस्पताल सुर्खेत पु(याइएको छ । कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उनकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहेका छन् ।
उनीहरुको शरीरमा गम्भीर चोट लागेको उनले बताए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष सिंहले बताए।
मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गएको उनले जानकारी दिए । भूकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताए । सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भएको उहाँको भनाइ छ । रासस