विराटनगर । विराटनगरको बहुचर्चित सेन्चुरी महलको नामले परिचित मोती दुगडको सेन्चुरी सपिङ महल बिक्रीका लागि प्रक्रिया अगाडि बढेको छ । उद्योगपति मोतीलाल दुगडले निर्माण सुरु गरेको करिब दश वर्षभन्दा बढी समय बित्दा समेत सेन्चुरी महल हालसम्म पनि निर्माणाधीन अवस्थामा नै रहेको छ ।
उद्योगी दुगडको पारिवारिक अंशबन्डा भएपछि उनको भागमा आएको उक्त सेन्चुरी महल अत्यधिक ऋणका कारण बैंकको कालोसूचीमा पर्ने भएपछि बिक्री गर्न लागिएको हो । अत्यन्तै तामझामका साथ शिलान्यास गरेर चर्चा कमाएका दुगडले सो महल निर्माण सम्पन्न नै नगरी बिक्री गर्न थालेका हुन् । उनले हालै सुनसरी मोरङ औद्योगिक कोरिडोमा रहेको दुगड स्पाइसेज एन्ड फुड प्रोडक्टको सेन्चुरीको २५ प्रतिशत सिएर डोल्मा कम्पनीलाई बिक्री गरेका थिए । उद्योगी दुगडकै पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको हेरिसन होटलले पनि मूअकर र आयकरबापतको ठूलै रकम राजस्व दाखिला गर्न बाँकी रहेको दाबी पनि स्रोतले गरेको छ । सेन्चुरीको २५ प्रतिशत सेयर बिक्रीबाट लामो समयदेखि बाँकी रहेको दुगडका विभिन्न कम्पनीको राजस्व बक्यौता फर्स्योट गरे पनि हेरिसन होटलको राजस्व बक्यौता फर्स्योट गर्न बाँकी रहेको छ । आर्थिकरूपमा बिस्तारै ओरालो लाग्दै गएपछि उनले धमाधम आफ्ना सम्पत्तिहरू बिक्री गर्न थालेका छन् ।