काठमाडौं । नेपालका लागि एसियाली विकास बैंक (एडीबी)का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले मेलम्चीमा बाढीका कारण भएको क्षतिलाई पुनःनिर्माण गर्नका लागि एडीबी सधैँ तयार रहेको बताएका छन् । खानेपानी मन्त्री प्रदीप यादवसँग बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले मेलम्ची आयोजनामा सधैँ सहकार्य गर्ने बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पूरै बगाएर क्षति गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिर्वतन गरी (केहीमाथि सारी) पानी वितरण सहज गर्ने कार्यका लागि आफूहरूले सहयोग गर्ने उनले बताए । उनले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई जानकारी गराएका थिए । एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरी पनि सहयोग गर्ने उनले बताए ।
भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानीसम्बन्धी कार्यक्रम तथा परियोजनाहरूको बारेमा छलफल भएको थियो । नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको सम्भावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो । भेटमा मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने बताएका थिए । यस्तै, उनले मन्त्रालयका तर्फबाट एडीबीलाई गर्नुपर्ने र आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढीले बगाएर क्षति गरेका हेडवक्र्सलाई ठाउँ परिर्वतन गर्न लागि जुनसुकै निकायमा जान पनि तयार रहेको बताएका थिए ।
यसैगरी उनले याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नै कार्यकालमा सफल पर्ने प्रयास गर्ने बताए । मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको अर्थ मन्त्रालयमा रोकिएको फायल अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाइने जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौंका ल्याउनका लागि युद्धस्तरमा काम गर्न मन्त्रालयका सचिव, कर्मचारी र आयोजना प्रमुखहरूलाई निर्देशन दिएको मन्त्री यादवले बताए ।