काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले असार महिनाको किस्तावापत सो रकम बुझाएको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाजको खरिद गर्न कर्मचारी सञ्चय र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । सो ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजकोे आंशिक गरी असार ३१ गते सो रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगमले २०८१ असारसम्मको अवधिमा पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुई सय ४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।
साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न निगमले आग्रह गरेको छ । यस्तै, किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको जनाएको छ ।