ढाका । बङ्गलादेशी प्रधानमन्त्री हसिनाका सेवकसँग दुई सय ८४ करोडको सम्पत्ति रहेको खुलासा भएको छ । ती सेवकसँग निजी हेलिकोप्टर समेत रहेको छ । उनले कुनै पनि ठाउँमा यात्रा गर्नुपरेमा हेलिकोप्टरको प्रयोग गर्दै आएका छन् ।
त्यति धेरै सम्पत्ति हुने सेवकको नाम जहाँगीर आलम हो । उनको काम प्रधानमन्त्री हसिनाको घरमा आउने पाहुनालाई पानी खुवाउनु हो । जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख गर्दै धेरै मानिससँग घुस लिएर त्यति धेरै सम्पत्ति जम्मा गरेको तथ्य खुलेको छ । उनले धेरैसँग काम गराइदिने बहानामा पैसा असुल्ने गरेको आरोप लागेको छ । यो कुरा थाहा पाएपछि प्रधानमन्त्री हसिनाले तत्काल कारबाही गर्न निर्देशन दिएकी छिन् भने जहाँगीर त्यसअघि नै अमेरिका भागिसकेका छन् ।
बङ्गलादेशमा भ्रष्टाचारका फाइल खोल्ने क्रममा प्रधानमन्त्रीका सेवकको नाम पनि परेको हो । पूर्वसेना प्रमुख, प्रहरी अधिकारी, कर अधिकारीलगायत धेरै सरकारी कर्मचारीहरुले भ्रष्टाचार गरेको मुद्दा बाहिर आएको छ ।
प्रधानमन्त्री हसिनाले आ–आफ्नो घरमा काम गर्ने व्यक्तिसँग करोडौँको सम्पत्तिको मालिक रहेको र त्यति धेरै पैसा कहाँबाट कमाएको हो भन्दै प्रश्न गरेकी छिन् । उसले कमाएको सम्पत्ति कमाउन सामान्य व्यक्तिलाई १३ हजार वर्ष लाग्नसक्ने भन्दै सरकारले यस विषयमा गम्भीरताका साथ अनुसन्धान गरिरहेको जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री शेख हसिनाका नोकर भ्रष्टाचारमा संलग्न रहेको खुलासा भएदेखि प्रतिपक्षले सरकारलाई घेरेको छ । बङ्गलादेशी नेसनलिस्ट पार्टी (बीएनपी)का प्रवक्ता वाहिदुज्जमानले नोकरसँग धति धेरै पैसा हुँदा उनको मालिकसँग कति छ भनेर अनुमान समेत गर्न नसकिने बताएका छन् । जनवरीमा हसिना चौथो पटक सत्तामा आएपछि धेरै भ्रष्टाचारका मुद्दा बाहिर आएका छन् ।