काठमाडौं,मौद्रिक नीति तर्जुमा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक शुक्रबार (आज) बिहान बस्ने भएको छ । स्रोतले दिएको जानकारीअनुसार व्यवस्थापन समितिले पास गरेको मौद्रिक नीतिको मस्यौदालाई सञ्चालक समितिले अनुमोदन गर्नका लागि शुक्रबार बैठक बस्न लागेको हो । सञ्चालक समितिले मस्यौदा अनुमोदन गरेमा शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक हुनेछ । गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर मौद्रिक नीतिबारे ‘ब्रिफिङ’ गरेका थिए । अर्थतन्त्र सुस्त बनिरहेको बेला गभर्नर अधिकारीमाथि लचक नीति लिन दबाब छ । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति भएकाले पनि गभर्नर अधिकारीले बजार चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउने अपेक्षा गरिएको छ । राष्ट्र बैंक स्रोतले पनि मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउने गरी नै आउने बताएको छ । खासगरी निजी क्षेत्र र बैंकहरूको समस्या समाधान गर्नेगरी नै मौद्रिक नीति आउने स्रोतको दाबी छ । निजी क्षेत्रले चालू पुँजी कर्जा मार्गदर्शनको कारण कर्जामा समस्या भएको भन्दै राष्ट्र बैंकलाई लचिलो बन्न माग गर्दै आएका छन् । अर्थ मन्त्रालयले पनि अर्थतन्त्र चलायमान बनाउन कर्जा विस्तारमा जोड दिइरहेको छ । वित्तीय प्रणालीमा निक्षेप थुप्रिँदै जाने तर कर्जाको माग नहुने स्थितिको अन्त्य हुनुपर्ने भन्दै अर्थ मन्त्रालयले कर्जा विस्तार बढाउनुपर्नेमा जोड दिएको छ । सोहीअनुसार मौद्रिक नीति तर्जुमा हुने राष्ट्र बैंक स्रोतले बताएको छ ।