झापा । गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट कोशी प्रदेशमा १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोही अवधिमा पाँच वटा हात्ती मरेका जनाएको छ ।
प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए । उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए ।
प्रवक्ता दाहालका अनुसार झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका ३५ भन्दाबढी रैथाने हात्तीको समूहले ठूलो धनजनको क्षति गरेको थियो । उनले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएको जानकारी दिए ।
सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई १० लाख क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेको उपचारका लागि २५ हजारदेखि एक लाखसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।