काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरास्थित गण्डकी विश्वविद्यालयले नेपालमै पहिलो पटक एआई पढाउने भएको छ । विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्टिलिजेन्स कार्यक्रम सार्वजनिक गरेको छ ।
भदौ १६ बाट एमआईटी एआईको कक्षा सुरु हुने विश्वविद्यालयले जनाएको छ । एमआईटी–एआई सार्वजानिकीकरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको भन्दै उनले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिए । उनले बजारले खोजेजस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड दिन आग्रह समेत गरे । मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने दाबी गरे ।
विश्वविद्यालयका डीन कपिल अधिकारीले एमआईटी एआईको आवश्यकता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे । उनले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको भन्दै एआईको अध्ययन गर्ने विद्यार्थी पछाडि नपर्ने स्पष्ट पारे । नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहेको उनले बताए । सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उद्देश्यसहित विश्वविद्यालयले एमआईटी एआई कार्यक्रम सार्वजनिक गरेको उनको भनाइ छ । आईटीमा जति धेरै उत्पादन गरिए पनि खपत हुने उनले बताए ।
रजिस्ट्रार कैलाश तिमिल्सिनाले २०७६ सालबाट सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले छोटो समयमा नै फड्को मारेको जानकारी गराए । कुलपति गणेशमान गुरुङले आईटी पार्कलाई समेत अगाडि बढाउनुपर्ने भन्दै विश्वविद्यालयले प्राप्त गर्ने अनुदानमा उदार हुन प्रदेश सरकारसँग आग्रह गरे । पोखरा ३२ मा आफ्नै संरचना खडा गरी आईटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउँदै आएको छ । पाँच सय ७६ रोपनी जग्गा विश्वविद्यालयको नाममा प्राप्त भएको छ । विश्वविद्यालयले आविस्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थी आबद्ध छन् ।