काठमाडौं । कामना सेवाविकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले नौ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले आव २०८०/८१ को आगामी वार्षिक साधारणसभाबाट तथा नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा एक सय रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार नौ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी यी सेयर निष्काशन गरिने छ । कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूको लागि मात्र बिक्री गरिने पनि कम्पनीले जानकारी दिएको छ ।