काठमाडौं । नेपालको लोकप्रिय ब्रान्ड सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सिद्धार्थ ग्रुपअन्तर्गतको आईपीओ जारी गर्न लागेको कम्पनी ‘सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेड’ अन्तर्गत बौद्धस्थित चार तारेस्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् । मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
अध्यक्ष न्यौपानेले चालू आर्थिक वर्षमै आईपीओ निष्काशन गरिने जानकारी दिए । उनका अनुसार कुल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँचतारेस्तरमा सिद्धार्थ भिलासा, चारतारेस्तरमा सिद्धार्थ वैभव र तीन तारेस्तरमा सिद्धार्थ बाटिका ब्रान्डका साथै हस्पिटालिटी एजुकेसन, रेस्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आईटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।
मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटल अनुभवी तथा कुशल व्यवस्थापनसहित पुँजी बजारमा लगानी व्यवस्थापन सेवा, सेयर रजिस्ट्रार, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सेवा, सेयर प्रत्याभूति सम्बन्धी सेवा तथा संस्थागत परामर्शदाता सम्बन्धी सेवा दिँदै आइरहेको अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी हो । मुक्तिनाथ क्यापिटलले छिट्टै सामूहिक लगानी कोष सञ्चालनको समेत तयारी गरेको कम्पनीका सीईओ जोशीले जानकारी दिएका छन् ।