काठमाडौं, असार ९
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले कर्जाको ब्याजमा छुुट दिने भएको छ । संस्थाले कर्जा लिएका ऋणीले असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यूनतम एक प्रतिशतदेखि अधिकतम छ प्रतिशतसम्म छुुट दिने घोषणा गरेको हो ।
संस्थाका अनुसार नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको तीन प्रतिशत ब्याज छुटको अलावा संस्थाले उक्त सुविधा दिने भएको हो । यो सुविधापश्चात् अधिक ब्याजदरको छुट प्राप्त गर्ने ऋणीको ब्याजदर १२ प्रतिशत कायम हुने संस्थाले जानकारी दिएको छ । साथै, साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्जर ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सबै क्षेत्रका कर्जाहरूमा लागू हुनेछ ।
संस्थाका अनुसार कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नको लागि कर्जाको ब्याज छुुटसम्बन्धी योजना ल्याइएको हो । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड २७ लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुुनाफा सात करोड ८४ लाख ५१ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४५ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ३८ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब २२ करोड ८७ लाख ७४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ११ लाख ३२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८१ लाख ४० हजार रूपैयाँ रहेको संस्थामा शून्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ४५ करोड २५ लाख ५० हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १७ करोड ८४ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले २१ करोड ६९ लाख ३१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।