काठमाडौं, असार ९
कृषि विकास बैंकमा अनलाइनबाट नै शून्य मौज्दातमा खाता खोल्न सकिने भएको छ । बैंकले आफ्ना सेवाहरू विविधीकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रूपमा प्रस्तुत गर्ने क्रममा पछिल्लो पटक उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको नेतृत्व सम्हालेदेखि नै बैंकले प्रविधिमा जोड दिएको छ । सोहीअनुुरूप बैंकले सबैजसो सेवाहरूमा सूचना प्रविधिको प्रयोग गर्दै आएको छ । प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहकमैत्री बनाउदै बैकिङ कारोवारको दायरा फराकिलो वनाउन विद्युतीय उपकरणको प्रयोग गरी अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको हो, बैंकले भनेको छ ।
उक्त प्रणालीको यही असार पाँच गते शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिलकुमार उपाध्यायले संयुक्तरूपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका उपमहाप्रवन्धकहरू प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दीर्घबहादुर अर्याल र धु्रबचन्द्र गौतमलगायत विभागीय प्रमुखहरू एवं बजार तथा शाखा व्यवस्थापन विभागका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
अनलाइनबाट खाता खोल्ने प्रणालीको सुरुवातपश्चात् देश विदेशमा रहेका नेपालीहरूले अनलाइनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा खाता खोल्न सक्दछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरीकले आफ्नै घर/कार्यालयमा बसेर बैंकखाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ । बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजयकुमार रिमालले बताए ।
सरकारी बैंकहरूमा अनलाइनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब चार करोड २३ हजार नौ सय ६१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २१ करोड २१ लाख २७ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३० अर्ब ५१ करोड ८६ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब ३९ करोड ५७ लाख ७९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३६ करोड १८ लाख ६३ हजार रूपैयाँ रहेको बैंकमा तीन दशमलव ६५ प्रतिशत रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा एक खर्ब १८ अर्ब ८८ करोड ४९ लाख २२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ८० करोड ६६ लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ३० करोड १९ लाख ९४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।