काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानबिन गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरूले उपसभामुख रानामगरमाथि छानबिन हुनुपर्ने माग राखेका हुन् ।
उपसभामुख रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी समेत नभएकोले छानबिन गरिनुपर्ने सत्तापक्षका सांसदहरूले माग गरेका छन् । कांग्रेस सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाका उपसभामुख रानामगरले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाए । यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद्बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उनको भनाइ छ । ‘संसद् सचिवालयलाई थाहै नदिई उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ’, उनले भने । ‘यस्तो अवस्थामा उपसभामुखले संसद्को कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन ? यो गम्भीर प्रश्न हो ।’
यस्तै, एमाले सांसद दामोदार पौडेल बैरागीले उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई पठाएको पत्र र उपसभामुखको विज्ञप्तिबाट मानव तस्करीको उद्देश्य देखिएको बताए । उपसभामुख सहभागी कार्यक्रममा सरोकार नै नभएका व्यक्तिहरूलाई अमेरिका पठाउन भिसा सहजीकरण गर्न पत्र पठाएको देखिएकाले यस विषयमा थप छानबिन गरिनुपर्ने उनको माग छ । यस्तै, प्रतिपक्षमा रहेका दलहरूले भने उपसभामुख रानामगरको बचाउ गरेका छन् । उपसभामुखसँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको विपक्षीको आरोप छ । साथै, पर्याप्त छानबिन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुखको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरूले आपत्ति जनाए ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुख रानामगर विवादमा मुछिएको विषय राजनीतिक नैतिक चरित्रसँग जोडिएको भए पनि संवैधानिक परिषद्मा अप्ठ्यारो पर्ने भएपछि सत्तापक्षले यो विषय उचालेको आरोप लगाए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसमामुखलाई मानव तस्करीजस्तो गम्भीर आरोप सत्तापक्षले लगाएको बताइन् । रानामगरको चरित्र हत्या गर्ने नियतले सत्तापक्षले यो विषय उठाइरहेको उनको दाबी थियो ।
उपसभामुख रानामगरले सन् २०२३ फेब्रुअरी २६ मा काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र हालै सार्वजनिक भएको थियो । उपसभामुख रानामगरले अमेरिकाको न्युयोर्कमा सन् २०२३ मार्च ६ देखि १७ सम्म आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा जानका लागि भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् । रानामगरले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गरेकी छन् ।
यद्यपि, काठमाडौंस्थित अमेरिकी दूतावासले उपसभामुख रानामगरले सिफारिस गरेका व्यक्तिहरूलाई भिसा दिन भने अस्वीकार गरेको थियो । उपसभामुख रानाले व्यक्तिगतरूपमा पत्र लेखेको र संसद् सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकाले उनीमाथि प्रश्न उठेको हो । उपसभामुख रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि कुनै समस्या हुँदैन । तर उनले सिफारिस गरेका व्यक्तिहरू संसद् र संसद् सचिवालयसँग सम्बन्धित नरहेपछि उपसभामुखमाथि प्रश्न उठेको छ । उपसभामुख रानाले एक विज्ञप्ति जारी गर्दै आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरेकी छिन् । यस्तै, उनले आफूले नियतबस नभई अञ्जानवश सिफारिस गरेको उल्लेख गरेकी छन् । यस्तै, उनले सिफारिस गरिएका व्यक्तिहरूमध्ये एक जनालाई मात्रै चिन्ने पनि बताएकी छिन् ।