काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेको उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध हालका दिनमा गुणात्मक रूपमा अत्यन्त मजबुत हुँदै गएकोे बताएका छन् ।
यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरका छन् । उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको जनाउँदै पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको बताए । प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ भने ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । उनले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताए ।
चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरे । दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए ।
अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनले नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताए । उनले चीनको यो साथ र सहयोगको नेपाल सरकार र जनताले सधैं उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेको बताए ।
सो समारोहमा जनमुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्तिहरु समारोहमा सहभागी थिए ।