काठमाडौं । जर्मन सरकारको शैक्षिक सहायता संस्था (ड्याड) र काठमाडौं विश्वविद्यालयले संयुक्तरूपमा नेपालमा पहिलो पटक फलिङ वाल्स ल्याब प्रतियोगिता आयोजना गरेका छन् । विगतमा पूर्वी र पश्चिम जर्मनी छुट्याउने बर्लिनको पर्खाल भत्काउने सोचका कारण आएको मानवले मानवहरूको समस्या समाधान गर्ने परिवर्तनकारी सोचलाई सम्बोधन गर्दै यस प्रतियोगितालाई फलिङ वाल्स ल्याब नामाकरण गरिएको हो ।
विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस प्रतियोगितामा नवीनतम् सोचलाई निर्णायक मण्डल र दर्शकका अगाडि प्रस्तुति गर्ने गरिन्छ । साथै, विजेतालाई जर्मनीको बर्लिन सहरमा हुने प्रतियोगितामा पूर्ण प्रायोजनसहित सहभागी हुने अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिता काठमाडौं विश्वविद्यालयमा गरिएको थियो । विश्वविद्यालयको बिजनेस इन्क्युवेसन सेन्टर र इनरजाइज नेपालद्वारा संयुक्तरूपमा सो प्रतियोगिता सञ्चालन गरिएको थियो । २८ जनाले आवेदन पेस गरेकामध्ये १० जना प्रतियोगीहरू प्रस्तुति दिनका लागि छनौट भएका थिए । प्रतियोगितामा काठमाडौं विश्वविद्यालयबाट फ्रिन्सेन प्रधान प्रथम, त्रिभुवन विश्वविद्यालयबाट अन्जना तामाङ दोस्रो र सोही विश्वविद्यालयबाट गौरव अधिकारी तेस्रो भएका थिए भने काठमाडौं विश्वविद्यालयबाट अनुप गोदारको प्रस्तुतिलाई दर्शकले सर्वाधिक रुचाएका थिए ।
सो प्रतियोगितामा कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, इनारजाइज नेपालका संस्थापक सम्पर्क व्यक्ति बृजेश अधिकारी, जर्मन राजदूतावासका डिपुटी मिसन डिरेक्टर डा स्टेफन रसेक, ड्याडकी डा कात्या लास्कलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको विजनेस इन्क्युवेसन प्राथमिकतामा परेको बताए । हालसम्म आफ्नो र अन्य सहयोगी स्रोतका माध्यमबाट ३७ वटा कम्पनी स्थापना र सञ्चालनमा सहयोग गरेको उनले जानकारी दिए । उनले ड्याड र जर्मन सरकारले यस प्रतियोगिता सञ्चालन गर्न विश्वविद्यालयसँग सहकार्य गरेकोमा धन्यवाद दिए ।