काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूको भुक्तानीलगायतका समस्या समाधान गर्न सरकार गम्भीर गृहकार्यमा रहेको बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले सरोकारवालासँग छलफल गरी निर्माण उद्योगको समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।
निर्माण व्यवसायीहरूका लागि काम गर्ने उपयुक्त वातावरण सरकारले तयार गर्ने उनको भनाइ थियो । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माण उद्योग शिथिल हुँदा समग्र अर्थतन्त्रमा गम्भीर चाप परेको स्वीकार गरे । महासंघ अध्यक्ष रवि सिंहले अव्यावहारिक ऐन नियम, भुक्तानी, सरकारी निकायबीचको समन्वय अभावलगायतका समस्याले गर्दा निर्माण उद्योग कठिन मोडमा पुगेको जानकारी गराएका थिए । महासंघ प्रतिनिधिमण्डलले मंगलबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कालाई भेटी निर्माण उद्योगमा देखिएको भुक्तानीलगायतका समस्याहरूबारे जानकारी गराएको छ । जवाफमा मन्त्री खड्काले सरकार र निर्माण व्यवसायीहरू हातेमालो गरी मुलुकको विकासमा जुट्नुपर्ने बताएका थिए । निर्माण उद्योगको समस्यालाई सरकारले गम्भीररूपमा लिएको उनको भनाइ थियो । मन्त्री खड्काले निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय काम गर्नुपर्ने बताए ।