फुङ्लिङ (ताप्लेजुङ) । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो ।
साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै एक करोड छ लाख ४३ हजार एक सय ७२ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङकाले जानकारी दिए । पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार पाँच सय र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० भेटी सङ्कलन भएको समितिले जनाएको छ ।
चैतमा मात्र ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको निर्देशक हाङवाङकाले जानकारी दिए । उनले पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएको हुँदा उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको बताए ।
गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा रु. ६९ लाख ३२ हजार चार सय, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ र असारमा १६ लाख ८८ हजार नौ सय भेटी सङ्कलन भएको उल्लेख गरिएको छ ।