काठमाडौं । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै मेटलाइफ नेपालले कर्मयोग फाउन्डेसनसँग करिब दुई सय ५० विद्यार्थीहरूलाई लाभ हुने गरी इटहरी १६ स्थित, लविपुरको जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ ।
यस डिजाइन गरिएको प्लेस्केपले सिकाइसँग खेल मिलाउँदै, बालबालिकाहरूलाई जीवन्त र उत्साहजनक वातावरण हुने बाचा गर्छ । यसले सबै बालबालिकाहरूबीच रचनात्मकता, शारीरिक गतिविधि र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिङ स्ट्रक्चरसम्बन्धी खेल क्षेत्रहरू, र शैक्षिक खेलहरूजस्ता विभिन्न अन्तक्र्रियात्मक तत्वहरू समावेश गर्छ । यो पहल मेटलाइफको समावेशी सामाजिक उत्तरदायित्व योजनाको एक हिस्सा हो, जसले नेपालमा शिक्षा र सामुदायिक कल्याणलाई समर्थन गर्छ ।
यस पहलअन्तर्गत मेटलाइफले विद्यालयमा अन्तक्रियात्मक प्लेस्केप विकास गर्नका लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था, कर्मयोग फाउन्डेसनलाई सात लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । यस प्लेस्केपले विद्यार्थीहरूको विशेष आवश्यकताहरू र क्षेत्रको सांस्कृतिक सन्दर्भसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्न स्थानीय वास्तुकारहरू, शिक्षकहरू र समुदायका सदस्यहरूलाई संयुक्त प्रयासमा समावेश गर्छ ।