काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले तेस्रोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।
परियोजनाले समुदायमा आधारित पर्यटनमा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको बोर्डद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ । परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर÷गाउँपालिकासँगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटन रोजगारीका अवसर सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो । यसअघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो ।
एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा ‘टुरिजम डेस्टिनेसन रेसिलेन्सी’ विधाअन्तर्गत पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो । निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेको कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेकाले मूल्याङ्कनस्वरूप अवार्ड प्राप्त भएको र यसबाट प्रोत्साहन मिलेको बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बताइन् ।
परियोजनाअन्तर्गत कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना तथा चार हजारलाई क्षमता अभिवृद्धिको तालिम प्रदान गरिएको थियो । साथै, सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकाले बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् । परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीका अनुसार यस अवधिमा परियोजनाले महिलाका लागि ‘रिभर गाइड’, यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि ‘टे«किङ गाइड’ तथा सातै प्रदेशका एक सय ५० पालिकाहरूका लागि पर्यटन रणनीति निर्माण गरिएको छ ।