बैंकिङ प्रणालीमा अहिलेसम्म सङ्कलन भएको निक्षेप ६४ खर्ब ४९ अर्ब रुपैयाँ छ । यस्तै बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म प्रवाह गरेको कर्जा ५१ खर्ब ४१ अर्ब रुपैयाँ छ । बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । अहिलेको निक्षेपअनुसार ५८ खर्ब चार अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न मिल्ने पैसा हो । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग अझै छ खर्ब ६३ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।दुई वर्षअघि वित्तीय प्रणालीमा तरलता अभाव थियो । उच्च आयातको कारण विदेशी मुद्रा सञ्चिति पनि कम हुँदै गएको थियो । अर्कोतर्फ मुद्रास्फीति पनि उच्च हुँदै गयो । त्यस समस्यालाई समाधान गर्न केन्द्रीय बैंकले आयात निरुत्साहित गर्ने नीति लियो र कर्जा प्रवाहमा कडाइ ग¥यो । माग पक्ष कमजोर बनाएर अर्थतन्त्र ट्र्याकमा ल्याउन ब्याजदर बढाउने नीति लिइयो । त्यसको असरले बजार सङ्कुचित हुनगयो । ब्याजदर बढाउँदा माग पक्ष कमजोर भयो र आयात निरुत्साहित भयो । बजारमा वस्तुको माग नै कम भएपछि उद्योगी व्यवसायीले उत्पादन घटाए, आयात खुम्चियो । बाह्य क्षेत्र ठीक ठाउँमा आयो । महँगो ब्याजदर भएकाले बैंकमा निक्षेप राखेर ब्याज खाने बढे । अहिले बैंकहरूले ब्याजदर घटाएका छन् । तर, उपभोगमा वृद्धि हुन सकिरहेको छैन यसले गर्दा बजारमा माग पक्ष अझै पनि कमजोर छ । माग पक्ष कमजोर भएपछि उद्योगीहरूले बैंकबाट ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यही कारण बैंकमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सीडी रेसियो ७८ दशमलव ११ प्रतिशत छ । प्रणालीमा भएको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूसँग मात्रै ५७ खर्ब १६ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूसँग सात खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप छ । वाणिज्य बैंकहरूले ४५ खर्ब ४८ अर्ब रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न समयमा निक्षेप सङ्कलन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि अल्पकालीन अवधिको स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरिरहेका छन् । केन्द्रीय बैंकले साउन ९ गते बुधबार एकैदिन ४० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । निक्षेप सङ्कलन बोलकबोलमार्फत सो रकम प्रशोचन गरेको हो । यसअघि पनि साउन २ गते केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब रुपैयाँ तानेको थियो । चालू आर्थिक वर्ष लागेपछि मात्रै केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट चार खर्ब रुपैयाँभन्दा बढी रकम तानेर तरलता व्यवस्थापन गरेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले एसडीएफमार्फत तीन प्रतिशत ब्याजदरमा पैसा लिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूबीच तीन प्रतिशतभन्दा कम ब्याजदरमा कारोबार भइरहेको छ । अधिक तरलता रहेको अवस्थामा कुनै बैंकले एक सापटी खोज्दा धेरै बैंक दिन तयार रहने भएकाले ब्याजदर तीन प्रतिशतभन्दा तल झरको बैंकरहरू बताउँछन् । अहिले अन्तर बैंक कारोेबारको ब्याजदर दुई दशमलव ९७ प्रतिशत देखिएको छ । निक्षेप सङ्कलन बोलकबोल भनेको के हो ? बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।