कराँची । उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गृष्मकालीन बिदा दुई सातासम्म लम्बिने एक शिक्षा अधिकारीले मंगलबार बताएका छन् । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुनेछन् ।
जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । जलवायु परिवर्तनका कारण तातो लहर र धेरै पटक चल्ने लु चल्ने गर्छ र मनसुन भारी र लामो समयसम्म हुन्छ ।
सिन्ध प्रान्तका शिक्षा विभागका प्रवक्ता आतिफ भिघियोले भने, ‘हामीले बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’
नियोजित विद्युत् कटौती अर्थात् लोडसेडिङ पाकिस्तानमा जारी विद्युत् आपूर्ति सङ्कटको बारम्बार कारण बन्दछ । लोडसेडिङ सहरअनुसार फरक फरक हुन्छ तर सिन्ध प्रान्तका ग्रामीण क्षेत्रमा यो दिनमा १२ घन्टासम्म हुँदा विद्यालयहरू पङ्खाबिना सञ्चालन हुनुपरेको छ ।
‘एक शिक्षिकाका रूपमा मलाई पाठ्यक्रम कसरी पूरा गर्न सक्छु भन्ने चिन्ता हुन्छ तर एक आमाका रूपमा म यो गर्मीमा विद्यालय जाने बालबालिकाका बारेमा चिन्तित छु’, सार्वजनिक विद्यालयकी शिक्षिकाले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामी गर्मीले मात्र नभई लोडसेडिङबाट चिन्तित छौँ ।’
सरकारले दुई करोड ६० लाखभन्दा धेरै बालबालिका गरिबीका करण विद्यालयबाहिर रहेको जनाएको छ । सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुनमा लुको सामना गर्नुपरेको थियो ।
मुलुकको सबैभन्दा धेरै जनसंख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन मे महिनामा गृष्मकालीन बिदा एक साताअघि सुरु गरेको थियो । रासस/एएफपी