काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले युद्धग्रस्त मुलुकमा श्रमिक पठाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
जेटीयुसीसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तानलगायतका देशमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो । जेटीयुसीसीका अध्यक्ष योगेन्द्र कुमार कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुकमा नपठाउन सरकारसँग आग्रह गरेका छन् । हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनन् गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको छ । रोजगारीको नाममा जानीजानी युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति गर्दै श्रमिकहरूलाई पठाउनु मानवतामाथिको घोर अन्याय भएको जेटीयुसीसीले जनाएको छ । सरकारले इजरायल—प्यालेस्टाइन युद्धमा बन्दक बनाइएका निर्दोश नेपाली नागरिक विपिन जोशीको सरकारले लामो समयसम्म पत्ता लगाउन सकेको छैन । रसिया—युक्रेन युद्धमा कैयन नेपालीको ज्यान गएको छ । रसियाबाट फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन समेत नसकिरहेको अवस्थामा फेरि नेपाली श्रमिकहरूलाई युद्धग्रस्त मुलुकमा पठाउने निर्णय भएको भन्दै जेटीयुसीसीले सो निर्णय तत्काल फिर्ता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग माग गरेको हो ।
यसैगरी जेटीयुसीसीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको अवस्था र न्यूनतम श्रम मापदण्डअनुसार सुविधा पाए नपाएको समग्र अनुगमन गरी सहजीकरण गर्न समेत सरकारसँग आग्रह गरेको छ । श्रमिकको जीवनलाई सुरक्षित बनाउन सामाजिक सुरक्षाको दायरामा समावेश गराउन सरकारी एवं कूटनीतिक नियोगहरूको भूमिकालाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण भूमिका खेल्नु आवश्यक रहेको जेटीयुसीसीको भनाइ छ । यस्तै, देशमा रोजगारीको अभावमा विदेशिनुपर्ने बाध्यताले गाउँ, सहरहरू खाली हँुदै गएको उल्लेख गर्दै जेटीयुसीसीले यसलाई रोक्नका लागि रोजगारी सिर्जनाका विशेष योजनाहरू बनाई आन्तरिक रोजगार प्रवर्द्धन एवं श्रम बजार सुदृढीकरण जरुरी भएको जनाएको छ ।