उमेश दुबे
बारा, असार १०
नेपालमा आएको विनाशकारी हावाहुरीले उपस्वास्थ्य चौकीको छाना उडाएर लगेपछि हालसम्म मर्मत हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । बाराको फेटा गाउँपालिका वडा नम्बर ७ स्थित रहेको उपस्वास्थ्य चौकीको छाना हावाहुरीले उडाएर लगेपछि स्वास्थ्य चौकीको निर्माण हुन सकेको छैन ।
स्थानीय जनप्रतिनिधिले नचाहेरै नै उपस्वास्थ्य चौकीको निर्माण कार्य अलपत्र अवस्थामा परेको गुनासाहरू आउने थालेको छ । फेटा गाउँपालिका वडा नम्बर ७ का स्थानीयहरूलगायत ३ गाउँका बासिन्दाहरूले उक्त उपस्वास्थ्य चौकीबाट लाभ लिने गरेका थिए । तर, अहिले स्वास्थ्य चौकीको भवन निर्माण हुन नसक्दा स्थानीयहरू मारमा परेका छन् । स्थानीयवासीहरूले पटक–पटक फेटा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष महम्मद हुसेन मिया र पाउँपालिका उपाध्यक्ष कमरुल खातुनलगायतलाई जानकारी गराउँदा पनि वास्ता नै नगरेको स्थानीयहरूले दुखेसो पोखेका छन् ।
उपस्वास्थ्य चौकीको निर्माण कार्य नहुँदा स्थानीयहरू चेकजाँच गराउन कलैया र वीरगञ्ज जानुपरेको स्थानीयहरूले दुखेसो पोखे । ‘अपना काम बनता भाड मे जाए जनता’ भन्ने हिन्दी उखानजस्तै हालको समयमा स्थानीय जनप्रतिनिधि रहेको स्थानीयले आरोप लगाए । स्थानीय चुनाव सम्पन्न हुनसाथ वडा अध्यक्ष महम्मद हुसेन मियाले विकास गर्नको निम्ति आएको बजेटबाट मनोमानी तरिकाले कार्य गर्दै आएको स्थानीयले बताए ।
एउटा गाउँको लागि सबभन्दा महत्वपूर्ण कुरो अस्पताल हुन्छ तर गाउँमा उपस्वास्थ्य चौकी हुँदाहुँदै निर्माण हुन नसक्दा स–सानो चेकअप गराउन सदरमुकाम र पर्सा जिल्लाको वीरगञ्ज जानुपरेको बाध्यता खेप्दै आएको स्थानीयहरूले गुनासो सुनाए । स्थानीय जनप्रतिनिधि जनताको साझाको रूपमा मानिए पनि जनताकै आशा र विश्वाससँग जनप्रतिनिधि खेल्दै आएको उनीहरूको भनाइ छ । आफ्नै वडामा विकास गर्नबाट पछि हट्ने जनप्रतिनिधिलाई जिताएरै गल्ती गरेको समेत पछुतो लाग्न थालिएको स्थानीयले बताए ।
स्थानीय जनप्रतिनिधिलगायत बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सांसद समेत उपस्वास्थ्य चौकीको विषयमा चासो नदेखाउनु लाजमर्दो कुरा रहेको स्थानीयले दुखेसो पोखे । यता फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलालप्रसादले वडा नम्बर ७ स्थित रहेको उपस्वास्थ्य चौकीको विषयमा आफूले प्रक्रिया बढाइसकेको बताए ।