काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ३३ करोड पाँच लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १० करोड रुपैंयाँले कम हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा एक अर्ब ४१ करोड ५२ लाख छ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैंयाँ रहेको बैंकले आव २०८०/८१ मा ८२ करोड ९८ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८६ करोड ४९ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ८९ करोड १६ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब छ करोड ३१ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले दुई अर्ब ७२ करोड ६० लाख आठ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको थियो ।